मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन् । शनिबार मकवानपुरमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताए ।
“नेकपा (एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ । यो देश हाँक्नेछ । यो देशलाई परिवर्तनको दिशामा अगाडि बढाउनेछ । हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो । जनताको सेवा गर्ने हो । देशको इज्जत र प्रतिष्ठा बचाउने हो,” उनले भने ।
अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनका बीचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए । गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने उनको भनाइ छ ।
“सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ,” उनले भने, “प्रदेशमा पनि सामूहिक रूपमा सरकार चलाउन चाहन्छौँ । राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहन्छौँ । योग्यता, क्षमता भएको मान्छेलाई हुर्काउन चाहान्छौँ ।”
उनले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुत रहेको जिकिर गरे । आफूहरूले पार्टीलाई पहिलो बनाउन चाहेको पनि उनले उल्लेख गरे ।