चितवन । चितवनमा आधारभूत भलिवल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा ५ दिनसम्म चलेको कार्यक्रम आज (बुधबार) सम्पन्न भएको हो ।
हिमालय दण्डपाणी न्यौपाने माविमा भएको ५ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाबाट ४५ जना भलिवल प्रशिक्षकहरु सहभागी थिए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका खेल विज्ञ शिवराज भट्ट र भलिवल प्रशिक्षक जगदिश भट्टले प्रशिक्षण दिएको जिल्ला खेलकुद बिकास समितिका सदस्य सैलेश थापाले जानकारी दिए ।
सहभागीहरुलाई भलिवल प्रशिक्षकहरुका लागि निकै महत्त्वपूर्ण बिषयहरु बारे जानकारी दिईएको थापाले बताए । यस कार्यक्रमले भलिवल खेल बिकासमा महत्त्वपूर्ण भूमिका खेल्ने चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले बताए ।
समापन कार्यक्रमका प्रमुख अतिथि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गरे । उनले खेल, खेलाडी र प्रशिक्षकहरुलाई सहयोग तथा सहकार्यका लागि आफ्नो संस्था सधैं तयार रहेको बताए । समापन कार्यक्रममा हिमालय दण्डपाणी माविका कार्यबाहक प्रधानाध्यापक भानुभक्त सुवेदी, तालिम संयोजक रामहरी ढकाल, जिल्ला भलिवल संघका महासचिव रमेशचन्द्र विकलगायत सहभागी थिए ।