चितवन । बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबीन बस्यालले आफ्ना दिवंगत हजुरबुवा, बुबा, अंकल र ससुराबुबाको स्मृतिमा क्लबलाई खेलकुद सामग्री वितरण गर्नु भएको छ ।
आज एक कार्यक्रमकाबीच दिवंगत हजुरबुवा टीकाराम बस्याल, बुबा शिवलाल बस्याल, अंकल दामोदर बस्याल र ससुराबुबा डिक बहादुर प्रसाईकाे स्मृतिमा क्लबका खेलाडीहरूलाई ४० थान जर्सी, ४० जोडी मोजा, १ थान किपर ग्लोब्स र दुई वटा बल कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख ठाकुर प्रसाद ढकाल मार्फत हस्तान्तरण गरिएको हो । कार्यक्रममा दिवंगत हुनुभएका व्यक्तित्वहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।
वसन्तपुर युनाइटेड क्लबका उपाध्यक्ष कोपिला क्षेत्रीकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा नगर प्रमुख ठाकुर प्रसाद ढकाल, विशिष्ट अतिथिमा खेलकुद समितिका अध्यक्ष तथा वडा ५ का अध्यक्ष रामबन्धु पोख्रेल र वडा ३ का अध्यक्ष पुरन महतो रहनु भएको थियो । अतिथिहरुमा बसन्तपुर बजार व्यवस्थापन समितिका अध्यक्ष शशिधर बराल, अनिल बस्याल र गोविन्द राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अतिथिहरुलाई एन्फा यु-१३ मा छनोट एबिन बस्याल र विशाल लामिछानेले खाँदा ओडाएर स्वागत गर्नुभएको थियो ।