चितवन । चैनपुर-सिद्धिपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमितिका लागि आज सम्पन्न निर्वाचनमा एमाले ,रास्वपा र नेपाली कांग्रेसका उम्मेदवारहरुलाई हराउँदै माओवादी केन्द्रका उम्मेदवार दल बहादुर सुनारले अध्यक्ष पदमा विजय हासिल गरेका छन् । अध्यक्षमा बिजयी सुनार नेकपा माओवादी केन्द्र खैरहनी नगर समितिका सदस्य हुन्।
४९० मत खसेको उक्त निर्वाचनमा सुनारले १८३ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भएका थिए । निर्वाचनमा एमालेका ढलक कुमार लामाले १३२ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खड्ग बहादुर कार्कीले ९४ मत, र नेपाली कांग्रेसका टिका गुरुङले ६९ मत प्राप्त गरेका थिए । निर्वाचनमा १२ मत बदर भएको थियो ।
मतपरिणाम अनुसार, सुनारको जितलाई संस्थामा स्थिरता, समावेशिता र गुणस्तरीय सेवा प्रवाहका लागि महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ । निर्वाचनपछि अध्यक्ष सुनारले सफा खानेपानीको प्रभावकारी व्यवस्थापन, उपभोक्ताको सेवा सुधार, र दीर्घकालीन टिकाउ विकास योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय उपभोक्ताहरूले पनि सुनारको नेतृत्वमा संस्थाले गुणस्तरीय सेवा दिनेमा विश्वास व्यक्त गरेका छन् । यस जितसँगै सुनार र उनको कार्यसमितिले आगामी कार्यकालमा नयाँ योजना र सेवा सुधारका लागि पहल गर्ने अपेक्षा गरिएको छ ।