चितवन । भरतपुर निवासी स्वर्गीय महेन्द्रबहादुर कार्कीको ३०औँ दिनको पूण्यतिथिमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । स्वस्तिक नेपालका पूर्व अध्यक्ष समेत रहनु भएका कार्कीको स्मृतिमा आज भरतपुरमा स्वस्तिक नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
कार्कीको २०८१ माघ २८ गते ५८ वर्षको उमेरमा असामयिक निधन भएको थियो । रक्तदान कार्यक्रममा सहभागी अतिथिहरुले स्वर्गीय कार्कीको व्यक्तित्वबारे चर्चा गर्दै उहाँको निधनले संस्थालाई अपूर्णनीय क्षति भएको पुगेको बताए । कार्यक्रमका शिक्षाविद् तथा समाजसेवी टेकबहादुर थापा प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।
कार्यक्रममा स्वर्गीय कार्कीका छोरा अप्रिल कार्कीले बुवाको स्मृतिमा आयोजना गरिएको कार्यक्रमले आफूहरुलाई भावुक बनाएको बताउनु भयो । आगामी दिनमा समेत आफ्ना बुवाको स्मृतिमा सामाजिक कामहरु गर्दै जाने कार्कीको भनाइ थियो ।
स्वस्तिक नेपालका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष हीरामान महर्जन, स्वस्तिक नेपालका कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, स्वर्गीय कार्कीकी छोरी शिक्षा कार्की रानाभाटसहितको उपस्थिति रहेको थियो । स्वस्तिक नेपालका महासचिव प्रेम बरालले सञ्चालन गर्नुभएको रक्तदान कार्यक्रमको संयोजक विष्णु लम्साल रहनु भएको थियो ।