इलाम । इलाम सदरमुकाममा चार महिना महिनाको अवधिमा बहुउपयोगी कभर्ड हल निर्माण भएको छ । कोरोनाको माहामारीका बीच छोटो अवधिमा कर्भड हल निर्माण भएको हो । अघिल्लो वर्षको माघमा निर्माण सुरु भएको कभर्ड हल गत ३० असारमा सम्पन्न भएको इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाईंले जानकारी दिए ।
५० लाख रुपैयाँको लागतमा निर्माण भएको कभर्डं हलको शुक्रबार इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
कभर्ड हल निर्माणको लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रतिनितिसभा सदस्य सुवासचन्द्र नेम्वाङले छुट्याएको २५ लाख रुपैयाँ, इलाम नगरपालिकाको १५ लाख रुपैयाँ र उपभोक्ता समितिको १० लाख रुपैयाँको लागतमा कभर्ड हल निर्माण भएको हो ।
तीन सय सात दशमलव ६५ वर्गमिटरमा निर्माण भएको कभर्ड हलमा दुईवटा ब्याडमिन्टन कोर्ड, चेन्ज रुम, स्टेज, क्यान्टिन, शौचालय र स्नान घर छ । कभर्ड हलमा ब्याडमिन्टन, टेबल टेनिस, कराँते, तेक्वान्दो, बक्सिङ लगायतका खेलहरू खेल्न सकिनेछ ।
यसअघि इलाम बजारमा एउटा मात्र कभर्ड हल थियो । त्यो कभर्ड हल प्रहरीको स्वामित्वमा रहेकाले कतिपय खेलाडीले त्यहाँ खेल्न असहज महसुस गरेका थिए । कडर्भ हल व्यवस्थापन र सञ्चालनको लागि नगर खेलकुद विकास समितिलाई जिम्मा दिइएको छ ।