चितवन । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले ‘निकुञ्जभित्र धुलोरहित सडक बनाउन आफूले निरन्तर पहल प्रयास गरेको’ बताउनुभएको छ ।
माडीको बरुवामा पाँचौं महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता प्रकाशले ‘माडीका नगरप्रमुख एवं अन्य नेताहरु समेतको आग्रह बमोजिम आफूले धुलोरहित सडकका लागि पहल गर्दै समन्वय बैठक समेत गरेको’ बताउनुभएको हो ।
‘माडीप्रतिको आफ्नो भावनात्मक सम्बन्ध प्रगाढ रहेको’ बताउँदै उहाँले ‘माडीले समेत आफूमाथि आशा र भरोसा गर्ने गरेको’ बताउनुभयो । ‘देशमा सुशासन स्थापना एवं समृद्ध नेपालको निर्माण अभियान नरोकिने’ पनि उहाँको भनाई थियो ।
मेलाको समुद्घाटन हुनुअघि नेता प्रकाशले माओवादी केन्द्रका नेता कार्यकर्ताहरुलाई समसामयिक राजनितीबारे प्रशिक्षण समेत दिनुभएको थियो । माओवादी केन्द्रको माडी नगर समितिले शहीद पार्क, माडी-२, सितलपुरमा सम्पन्न गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले समसामयिक अवस्थामा पार्टी लाइन र राजनैतिक कार्यनीतिबारे प्रशिक्षण दिनुभएको हो ।
माडीको बरुवा बजारमा पाँचौं महाशिवरात्री मेला सुरु
यसैबीच माडीको बरुवा बजारमा पाँचौं महाशिवरात्री मेला सुरु भएको छ । पाँच दिनसम्म जारी रहने सो मेला, माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ’प्रकाश’ले औपचारिक समुद्घाटन गर्नुभयो ।
साँस्कृतिक भेषभूषा सहितको शोभायात्रा बरुवा बजार परिक्रमा गरी मेलास्थल प्रवेश गरेसंगै औपचारिक समुद्घाटन कार्यक्रममा परिणत भएको थियो । थारु समाज बरुवाका अध्यक्ष रामप्रसाद महतोको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा माडीका जनप्रतिनिधि, राजनैतिक दल एवं सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
मेलाको पहिलो दिन नवगायिका सिम्रन परियारको गायन प्रस्तुति रहेको थियो । मेलास्थलमा आकर्षणका रुपमा थारु मचान र शिवको मुर्ती रहेको छ भने बाल उद्यानसंगै सानो संख्यामा होटल र अन्य व्यवसायिक स्टलहरु समेत रहेका छन् । थारु समाज समूह र शान्ति आमा समूहको संयुक्त आयोजनामा सञ्चालन हुने सो मेला फागुन १७ गतेसम्म सञ्चालन हुनेछ ।