काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताएका छन् । ३०औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धलाई कसैले मेटाउन सम्भव नभएको बताए ।
जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने उनले दृढता व्यक्त गरे ।
‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो । यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन संभव छैन, जसले मेटाउने प्रयास गर्छ, ऊ खरानी हुनेछ,’ उनले भने, ‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौं । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो । हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौं ।’
जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उनले बताए ।
‘अहिले पनि दुई वर्ग र प्रवृत्तिबीच संघर्ष चलिरहेको छ । हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि प्रतिक्रियावादीहरूले जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौं, आज त्यही स्थिति बनेको छ’अध्यक्ष प्रचण्डले भने, ‘एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौं । यो संघर्ष चलिरहेको छ ।’