चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा र त्यसको प्रभावकारीको विषयमा विहीबार सामाजिक परीक्षण कार्यक्रम गरिएको छ । अस्पतालले प्रदान गर्ने सेवा प्रति नागरिकको अपेक्षा र सुधार गर्नुपक्षका विषयमा अभिमत संकलनको लागि कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले स्वास्थ्य बीमाको १० प्रतिशत शुल्क खारेजीको माग गरेका छन् । उनीहरुले स्वास्थ्य बिमामा विरामीको रोग अनुसारको औषधि उपलब्ध नभएको भन्दै गुणस्तरीय औषधिको व्यवस्था गर्न माग समेत गरेका छन् । मृगौला रोगीको डायलासिस, छालाको प्रभावकारी उपचार, ल्याव रिपोटमा अटोमेटिक मेसिनको प्रयोग गरिएकोमा अस्पतालको प्रशंसा गर्दै उपचारमा उपकरणको प्रयोग बढाउन र विशेषज्ञ डाक्टरहरु थप गर्न माग गरेका छन् । सहभागीहरुले सरसफाईमा ध्यान दिन, क्यान्टिन र पाकिङको व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा उद्यमशिल महिला सञ्जाल रत्ननगरकी अध्यक्ष गीता सिंखडा, बसन्त देवकोटा, शम्भूभक्त थपलिया, मीना श्रेष्ठ, टोपबहादुर सिलवाल, ज्ञानेन्द्रराज पाण्डे, सुरज परियार, दीलबहादुर घर्ती, चन्द्रमणि आचार्य, रन्जना श्रेष्ठ, हिमालय खनाल, रवि भट्ट, पुष्पा रेग्मीले अस्पतालले प्रदान गर्ने सेवाको विषयमा प्रश्न गरेका थिए ।
सहभागीको प्रश्नको जवाफ दिँदै अस्पतालका मेसु डा.मदन ज्ञावलीले स्वास्थ्य बिमाको १० प्रतिशत शुल्क खारेज अस्पतालको तहबाट सम्भब नरहेको बताए । उनले जनस्तरबाट सञ्चालित अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन अस्पताल विकास समिति र प्रशासन एकताबद्ध भएर काम भइरहेको बताए । उनले नागरिकबाट आएका विषयहरुलाई लिपीबद्ध गरी सुधारका कदमहरु अगाडि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संविधान सभा सदस्य शेषनाथ अधिकारीले सरकारी सहयोग न्यून रहेको अस्पताललाई शान्तिमेड नेपालले जुरुकै उठाउने काम गरेको बताए । अस्पतालको भवन निर्माण, मृर्गौैला र छालाको उपचार र उपकरण उपलब्धतामा शान्तिमेड नेपालकी संस्थापक डा.रुथ गोन्सेथले महत्वपूर्ण योगदान गरेको उनको भनाई छ ।
रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकले जनस्तरबाट सञ्चालित बकुलहर रत्ननगर अस्पताल राम्रो प्रगति गरेको बताए । औषधि खरिदमा गरिने टेन्डर प्रक्रियाका कारण स्वास्थ्य बिमामा गुणस्तरीय औषधि नपाइने भन्दै टेण्डर प्रक्रिया खारेजीको लागि दवाब आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस रत्ननगरका कार्यबहाक सभापति कमलनाथ अधिकारी, एमालेका नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल,माओवादी केन्द्रका जीवनलाल श्रेष्ठ, रास्वपाका बेदप्रसाद आचार्य, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, अस्पतालका पूर्वअध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम अस्पताल सञ्चालन समितिका अध्यक्ष गोपालराज कर्माचार्यको अध्यक्षतामा भएको थियो । २०६५ सालमा बकुलहर हेल्थपोष्टको स्तरोन्नती गरी बकुलर रत्ननगर अस्पतालको स्थापना गरिएको थियो । २०७७ सालमा बागमती प्रदेश सरकार अन्तर्गत ५० शैयामा स्तरोन्नती भएको सो अस्पताल २०८० सालमा १०० शैयाको स्विकृति पाएर प्रादेशिक अस्पतालमा रुपान्तरण भएको थियो ।
दैनिक ९१० जनाको उपचार हुँदै आएको सो अस्पतालमा बार्षिक ३० प्रतिशतका दरले विरामीको संख्या बृद्धि हुँदै गएको छ । २०७८/७९ मा १ लाख ४२ हजार ४०८, २०७९/८० मा २ लाख ३ हजार ११०, २०८०/८१ मा २ लाख ४५ हजार ६९४ जना विरामीको उपचार गरेको सो अस्ताललले चालु आर्थिक बर्षको झण्डै सात महिनामा १ लाख ८१ हजार २०३ जना विरामीको उपचार गरिएको मेसु ज्ञावलीले जानकारी दिए ।