चितवन। भरतपुर महानगरपालिकाको आयोजनामा आज (बुधबार)देखि अन्तर वडा उपमेयर कप (महिला/पुरुष) भलिबल प्रतियोगिता सुरु भएको छ । भरतपर–१०, स्थित गेष्टहाउस चौरमा सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समुद्घाटन गर्नुभयो ।
सो क्रममा बोल्दै प्रमुख दाहालले महिलाहरुलाई पनि समावेश गर्ने गरी यो भलिबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । महानगरले सबै खालका खेलकुद गतिविधिलाई बढाउँदै लगेको भन्दै पूर्वाधार निर्माणमा पनि लागिपरेको बताउनुभयो । उहाँले नयाँ कवर्डहलको रुपमा पटिहानीमा निर्माण गरिएको भन्दै क्रिकेट खेलका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अगाडि बढाएको बताउनुभयो । उहाँले खेलाडीहरुलाई शुभकामना दिँदै आगामि दिनमा उपमेयर कप भलिबललाई अझै भव्य बनाएर लैजाने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख चित्रसेन अधिकारीले महानगरको आफ्नै टिम बनाउने गरी यो भलिबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले खेलसंगै आत्मियता भाइचारा कायम गर्ने भएकाले अनुशासित भएर खेल खेल्न सबैमा आग्रह गर्नुभयो । उहाँले आगामि दिनमा अझै व्यवस्थित र भव्य रुपमा प्रतियोगितालाई आयोजना गरिने बताउनुभयो ।
उद्घाटन समारोहमा भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतो, भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, जिल्ला भलिबल संघका महासचिव रमेश विश्वकर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । समुद्घाटन सत्र उपप्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ ।
यसैबीच प्रतियोगिताको समुद्घाटन खेलमा भरतपुर वडा नं.१४ विजयी भएको छ । वडा नं.२४ लाई २–० को सोझो सेटमा पराजित गर्दै वडा नं.१४ दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो दिन पुरुष र महिलातर्फ समान ३ खेल भएका छन् । पुरुषतर्फको अन्य खेलमा भरतपुर वडा नं.७ ले वडा नं.२२ लाई २–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश ग¥यो । तेस्रो खेलमा वडा नं.२८ ले वडा नं.२३ लाई पनि २–१ ले नै पराजित गर्दै दोस्रो स्थानमा प्रवेश पायो ।
महिलातर्फको दुई खेलको नतिजा निस्कियो भने अन्तिम खेलमा भरतपुर १३ र वडा नं.२३ बी बीचको खेल १–१ सेट जितपछि खराब प्रकाशका कारण आजलाई स्थगित गरी भोलि पुनः खेलाईने जिल्ला भलिबल संघका महासचिव रमेश विश्वकर्माले जानकारी दिए ।
माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिला टिमलाई बराबर पुरस्कार राशी राखिएको छ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्धितीय हुनेले २० हजार रुपैयाँ र सेमीफाइनलमा पुग्ने दुई टिमले समान १०र१० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।