रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । सोही दिन उनको बयान सकिएको थियो । हिजो बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।
जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले सुरुमा जाहेरवालाका कानुन व्यवसायीले बहस गर्ने र त्यसपछि प्रतिवादीको सुरु हुने बताए । अहिले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन् । त्यसपछि प्रतिवादीका तर्फबाट लामिछानेका वकिलहरूले बहस गर्नेछन् ।
लामिछानेका तर्फबाट बहस गर्नका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त, नारायण कँडेल, यज्ञमणि न्यौपाने, सुधीर कर्णसहित १० जनाले वकालतनामा गराएका छन् । तर, बढीमा ३ जनाले मात्र बहस गर्ने र बहस सकेर शुक्रबार नै आदेश आउने वातावरण तयार गर्ने भन्दै लामिछानेको तर्फबाट वकालतनामा गराउनेको सङ्ख्या घटाउने प्रयास रास्वपाका नेताहरूले गरिरहेका छन् ।
बिहीबार भएको पहिलो दिन सरकारी पक्ष र जाहेरवालाको तर्फबाट बहस भएको थियो । दुवै पक्षको बहसमा प्रतिवादीलाई जिम्मा जमानीमा छोडेकोमा प्रश्न उठाइएको थियो । गोर्खा मिडिया नेटवर्क स्थापना नै सहकारी ठगी गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको विषय उठेको थियो । सरकारका तर्फबाट आइतबार दायर भएको सहकारी ठगी र संठगित अपराधको मुद्दामा प्रतिवाद गर्न रास्वपा सभापति रवि लामिछाने बुधबार अदालत उपस्थित भएका थिए ।
बुधबार नै उनको मुद्दाको पेशी ५ नं. इजलासमा न्यायाधीश प्रह्लादकुमार योगीकोमा परेको थियो । बुधबार बयान भएपछि न्यायाधीश योगीकै इजलासमा बिहीबारबाट थुनछेक बहस सुरु भएको हो । बिहीबार सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, उच्च सरकारी वकिल कार्यालयका प्रमुख शोभाकान्त भण्डारीसहित ८ जना सरकारी वकिलले बहस गरेका थिए ।
बहसमा रविलाई परिवारको जिम्मा जमानीमा छोडेको देखि रविले सहकारीको रकम अपचलन राजनीतिमा आउनुअघिकै योजनाअनुसार भएको र त्यसबाट संरक्षण हुनका लागि राजनीतिमा आएकाले अहिले सङ्गठित अपराधलाई राजनीतिकरण गरिएको जिकिर गरेका थिए ।
सहकारी ठगीको अनुसन्धानको सिलसिलामा कात्तिक २ गते पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ गते र काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा माघ २ गते रिहा भएका थिए ।
माघ ६ गते आइतबार रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो । मुद्दामा जिबी राई, रवि लामिछानेसहित २८ जनाबाट ५५ करोड बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र रविको व्यक्तिगत तर्फ २ करोड बिगो दाबी गरिएको छ ।