चितवन। उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।
महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको चौधौं दिन भोलि माघ ९ गते सांस्कृतिक कार्यक्रमको समापन गरिँदैछ ।
महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार समापन समारोहमा भोलि १२ः४५ बजे मिस नेपाल आश्मा कुमारी केसीको उपस्थिति रहने छ । त्यसैगरी भोलि नारायणी कला मन्दिरको केही साँस्कृतिक कार्यक्रम समेत रहने छन् ।
कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुष २५ बाट सुरु भएको थियो भने माघ १० गतेसम्म चल्ने छ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रमसहित नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठी लगायतका अतिरिक्त गतिविधिहरु समेत भइरहेका छन् । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी स्टल रहेको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।
महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।