चितवन। शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा आजदेखि सुरु भएको ‘पीएफसी इमर्जिङ कप–२०८१’ को उद्घाटन खेल भरतपुरको नारयाणी माध्यामिक विद्यालयले जितेको छ।
सैनिक आवासीय माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै नारायणी माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको हो । नारायणीको जितमा सन्दीप गुरुङले गोल गरेका थिए । उनै गुरुङ खेलको म्यान अफ द म्याच पनि बने ।
शनिबार ११ बजे पहिलो खेल नारायणी इङ्गलिस पब्लिक स्कुल र बाल्मिकी शिक्षा सदनबीच हुनेछ भने दोस्रो खेल १ बजे अरुणेदय माध्यामिक विद्यालय र ओर्बिट स्कुलबीच हुने क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए । पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगितामा चितवनका १६ विद्यालयहरू सहभागी छन् । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा माघ १२ गते सम्म हुनेछ ।
खेलको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं. १४ का वडाअध्यक्ष राजेन्द्र सााखीले स्कुलदेखि नै नयाँ खेलाडीहरूको पहिचान गर्न प्रतियोगिता सफल बनेको भन्दै प्रशंसा गरेका थिए । शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस घिका संस्करणहरू निकै उपलब्धिमूलक पाएको उनले बताए । प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँबराबरको खेलकुद सामग्री पाउने छन् ।
यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । अनुशासित टिमलाई ५ हजारबराबरको खेलकुद सामग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।
पटिहानी फुटबल क्लबले स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ । यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । प्रतियोगिताको प्रवर्द्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन् ।