काठमाडौं । बुधबार साँझतिर भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव लगभग सकिएको छ । पश्चिम नेपालबाट भित्रिएको न्यून चापीय प्रणालीले बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा गराएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार, उक्त मौसमी प्रणालीका कारण डडेलधुरा, डोटीलगायतका स्थानमा सामान्यदेखि मध्यम वर्षा भएको थियो ।
तर, आजदेखि उक्त मौसम प्रणाली लगभग सकिएको मौसमविद् पुडासैनीले बताए । आज वाग्मती, मधेस र कोसी प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।
“पश्चिम नेपालमा हिजो वर्षा गराएको पश्चिमी न्यून चापीय प्रणालीको असर अहिलेलाई लगभग सकिएको छ । आज वाग्मती, मधेस र कोसी प्रदेशमा थोरै बदलीको सम्भावना छ । बाँकी ठाउँमा मुख्यतया आज मौसम सफा रहनेछ,” मौसमविद् पुडासैनीले भने ।