चितवन। नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।
महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको नवौं दिन भोलि माघ ४ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
महोत्सव सांस्कृतिक कार्यक्रम समितिका संयोजक नारायण प्रधानका अनुसार भोलि दिउँसो ११ः३० बजेपछि राष्ट्रव्यापी गजल प्रतियोगिता हुँदैछ । त्यसैगरी ३ः०० बजेपछि सिमरन परियारको प्रस्तुती रहने छ । त्यसैगरी समयसमयमा बलराम सरकारको जादुसहित स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने छ ।
स्थानीय कलाकारहरुको प्रस्तुतिमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, नेपाल पुलिस कलाकार काठाडौं, नेपाल तामाङ धेदुङ्, नेपाल मगर संघ, नेपाल ह्युला छोंज धि, भुजेल सेवा समिति, नेपाल बोटे समाज र स्थानीय गायकको प्रस्तुति रहने छ ।
पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।