काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो ।
“पश्चिम नेपालबाट हिजो साँझबाट नयाँ मौसमी प्रणाली भित्रिएको छ । जसका कारण आज वर्षा र हिमपातको सम्भावना छ,” मौसमविद् गोविन्द झाले भने । पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको हो ।
यो प्रणालीका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुनेछ । त्यसबाट पूर्व भने यो प्रणालीको प्रभाव पर्नेछैन ।
“गण्डकी प्रदेशदेखि पश्चिम सुदूरपश्चिम प्रदेशसम्म वर्षा र हिमपातको सम्भावना छ । तर ठूलो वर्षाको सम्भावना भने छैन,” मौसमविद् झाले भने, “आज रातिसम्म मात्रै यो प्रणालीको प्रभाव रहनेछ । भोलि बिहानबाट यो प्रणाली हटिसकेर मौमस सफा हुन सुरु हुनेछ ।”
यो प्रणाली यसअघिका प्रणालीभन्दा कमजोर रहेको छ । यसअघि हिउँदे वर्षा गराउने प्रणालीभन्दा यो कमजोर रहेको हो । काठमाडौंमा आज मौसम बदली हुनेछ । तर वर्षाको सम्भावना नरहेको मौसमविद् झाको भनाइ छ ।