चितवन। फेशन फ्युजन रन वे विथ म्युजिकल इभेन्टको दोस्रो संस्करण माघ १२ गते हुने भएको छ । आयोजक दि पोजेटिभ इभेन्ट्सले आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिएको हो ।
यस पटक कार्यक्रमलाई थप फरक तरिकाले गर्न लागिएको दि पोजेटिभ इभेन्ट्सका सिईओ राज रिजाल क्षेत्रीले जानकारी दिए । यस पटक रन वे सँगै सांगितिक कार्यक्रम र एनिमे कन गरिने उनले बताए । एनिमे जापानी शैली हो । चितवनमा पनि एमिनेलाई उजागर गर्न यस पटक फेशन शोसँग जोडिएको उनले बताए । यसका लागि एनिमे कन चितवनसँग सहकार्य गरिएको छ । यस किसिमको सहकार्य पहिलो पटक गरिएको एनिमे कनका सदस्य पवन राना मगरले बताए ।
कार्यक्रममा १८ देखि २५ वर्ष उमेर समूहका पुरुष र महिला गरी २५ देखि ३० जना मोडलहरु रहनेछन् । मोडलिङ क्षेत्रमा सक्रिय चितवनका मोडलहरु कार्यक्रममा सहभागी हुनेछन् । उनीहरुलाई दश दिन तालिम दिईनेछ । उनीहरुलाई वाकसँगै व्यक्तित्व विकास, क्यामेरा फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित तालिम दिईने कोरियोग्राफर तथा दि राइज इभेन्ट्सका सिईओ सलिन श्रेष्ठले बताए ।
यो कार्यक्रमले मोडलिङमा सक्रिय चितवनका मोडलहरुलाई यही क्षेत्रमा स्थापित गर्न मद्त मिल्ने श्रेष्ठको भनाइ छ । यसले उनीहरुका लागि नयाँ अवसरका बाटो खुलाउन सहयोग पुग्ने पनि उनको भनाइ छ ।
धावन रि क्रियसनमा हुने कार्यक्रममा नेपालका चर्चित अभिनेता सलोन बस्नेत प्रमुख आकर्षणको रुपमा रहनेछन् । यस्तै युवाहरु माझ लोकप्रिय कन्टेन्ट क्रिएटर तथा कलाकार पारस बम ‘कुल बोइ’ बिशेष अतिथिको रुपमा सहभागी हुनेछन् ।
यस्तै सांगितिक कार्यक्रम चर्चित कलाकार सहभागी हुनेछन् । फेशन, म्युजिक र एनिमे कनलाई एक अर्कासँग जोड्न कार्यक्रम आयोजना गरिएको हो । यसैबीच कार्यक्रमका लागि आज नै मोडलहरुको अभिमुखीकरण पनि सम्पन्न भएको छ ।