चितवन । देवघाट महा-महोत्सव २०८१ को मुख्य आकर्षणका रूपमा प्रसिद्ध कथा वाचिका देवी प्रतिभा भोलि पौष २९ गते देवघाट आइपुग्ने भएकी छिन्। गण्डकी र त्रिशूली नदीको संगमस्थलमा जारी यस महोत्सवमा देवी प्रतिभाले १० दिनसम्म विशेष प्रवचन दिने कार्यक्रम तय गरिएको छ। उनका प्रवचनहरूले महोत्सवमा सहभागी लाखौं भक्तजनलाई आध्यात्मिक सन्देश प्रदान गर्ने विश्वास गरिएको छ।
देवघाट महोत्सवको आयोजक समितिका अनुसार, देवी प्रतिभाको आगमनले धार्मिक वातावरण थप आध्यात्मिक र प्रेरणादायी बन्नेछ। कथावाचन र प्रवचनमा देवी प्रतिभाले धार्मिक, सांस्कृतिक, र सामाजिक सन्देशहरू प्रस्तुत गर्दै जीवनको सत्य र अध्यात्मको गहिरो दर्शन पस्कनेछिन्।
देवघाट महोत्सवको प्रमुख कार्यक्रमहरूमध्ये देवी प्रतिभाको प्रवचनलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ। प्रवचनका लागि २०औ हजार श्रोता अट्न सक्ने विशेष मण्डप निर्माण गरिएको छ, जसले भक्तजनहरूको मन लोभ्याउने छ। आयोजकका अनुसार, उनले श्रीमद्भागवत कथा मार्फत आध्यात्मिक चिन्तन, सामाजिक एकता, र परोपकारका सन्देशहरू प्रवाह गर्नेछिन्।
देवी प्रतिभाको प्रवचन सुन्नका लागि देशभरबाट भक्तजनको ठूलो उपस्थितिको अपेक्षा गरिएको छ। उनको साधनापूर्ण वाणी र कथावाचन शैलीले लाखौं भक्तजनको हृदय छोएको छ। यही कारण, महोत्सवको यस चरणलाई विशेष ऐतिहासिक क्षण मानिएको छ।
देवघाट महा-महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनका साथै धर्म, संस्कार, र माता पिता सेवाश्रम को माध्यमबाट समाजसेवाको महत्त्व उजागर गर्ने उद्देश्य राखेको छ। देवी प्रतिभा जस्ता ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्वहरूको उपस्थितिले महोत्सवलाई थप महत्त्वपूर्ण बनाउने विश्वास गरिएको छ।
महोत्सव आयोजकले सबै भक्तजनलाई माघ महिनाभर चल्ने देवघाट महामहोत्सवको कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आग्रह गरेका छन्। देवी प्रतिभाको प्रवचनले धार्मिक र सामाजिक चेतनाको पुनर्जागरण गर्दै सबैलाई जीवनको परम लक्ष्यतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।