चितवन। चितवन राष्ट्रिय निकुञ्जको कसरापूर्वमा पानी चराको गणना सम्पन्न भएको छ । शनिबार सार्वजनिक गरिएको नतिजा अनुसार सो क्षेत्रमा ५५ प्रजातिका पानी चरा फेला परेको गणनाको नेतृत्व गरेका कार्यक्रम संयोजक वासु बिडारीले बताए ।
राप्ती नदीको लोथरदेखि कसरासम्म र कसरा पूर्व लोथरसम्मको निकुञ्जको सीमसार, तालतलैया र माछा पोखरीमा गणना भएको हो ।
अघिल्लो वर्ष यो क्षेत्रमा ५३ प्रजातिका पानी चरा भेटिएका थिए । गत वर्ष नदेखिएको कालो टाउके गंगा चिल र राजा गंगा चिल यसपटक देखिएको बिडारीको भनाइ छ । बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको स्वयंसेवकहरु चरा गणनामा सरिक थिए ।
गएको सोमबार र मंगलबार चितवनको यस क्षेत्रमा हिउँदमा बसाइँसराइ गरेर आउने जलपन्छीको गणना भएको थियो । यसमा ६३ जना स्वयंसेवक खटिएका थिए ।