चितवन। तनहुँको देवघाटबाट आउनुभएकी लक्ष्मी तिमिल्सिना नारायणी नदीको किनारमा बनाइएका केराको चिप्स खाँदै हुनुहुन्थ्यो । उहाँले आलुको परिकार जस्तै केराको चिप्स नयाँ स्वादका रूपमा पहिलो पटक अनुभव गरेको सुनाउनुभयो ।
उद्योग वाणिज्य सङ्घ चितवनले बिहीबारदेखि सुरु गरेको १५औँ चितवन महोत्सवको उद्घाटन समारोहमा सहभागी हुन आउनुभएकी तिमिल्सिनाले आफूले केरा पकाएर खाने गरे पनि खाना र खाजाका रूपमा काँचो केरालाई प्रयोग नगरेकाले नयाँ स्वाद लागेको बताउनुभयो । देवघाटमा व्यवसाय गर्दै आउनुभएकी तिमिल्सिनाले केराजस्तो चोखो जातको परिकार सबै पसलमा पु¥याउन सके व्यवसायीका साथै उपभोक्तालाई पनि फाइदाजनक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “केराको परिकारलाई सबैको पसलमा पु¥याउनु आवश्यक छ ।”
महोत्सव अवलोकन गर्न आउनुभएका भरतपुर महानगरपालिका–१२ का युवराज रेग्मी केराको स्वाद लिँदै घाम ताप्दै हुनुहुन्थ्यो । केराका विभिन्न परिकार अवलोकन गर्दै उहाँले भन्नुभयो, “नयाँ स्वाद र अग्र्यानिक परिकारले मन लोभ्यायो । केरा पकाएर मात्रै नभई काँचै पनि विभिन्न परिकार बनाएर खान मिल्ने रहेछ, यो सबैले खान मिल्ने खालको हुँदो रहेछ ।” उहाँले यसको प्रयोग बढाउन सके प्रभावकारी हुने विचार राख्नुभयो । महोत्सवस्थलमा रहेको केराको मःम, चिप्स, अचारलगायत विभिन्न परिकार खान आउनेको घुइँचो थियो ।
केराका विभिन्न परकारका बारेमा उपभोक्तालाई जानकारी दिने उद्देश्यले महोत्सवमा राखिएको चितवन केरा सङ्घका उपाध्यक्ष शङ्कर सुवेदीले बताउनुभयो । उहाँका अनुसार यहाँ केराको मःम, छोइला, अचार, पकौडा, चिप्सलगायत खाजाका परिकारहरू बिक्रीका लागि राखिएका छन् । जिल्लामा हुने हरेक महोत्सवमा सङ्घको नेतृत्वमा केराका परिकार पस्किँदै आइएको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य समयमा बढी सेवाग्राही नपाइने भएकाले मेला महोत्सव लक्षित गर्दै आएका हौँ ।” दैनिक ३१ जना कर्मचारी राखेर महोत्सव अवलोकनकर्तालाई केराका परिकार चखाउँदै र सिकाउँदै आइएको सुवेदीले जानकारी दिनुभयो ।
जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा अहिले केराखेती हुँदै आएकामा ४३ हजार एक सय ९३ मेट्रिक टन उत्पादन हुन्छ । उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने जनाउँदै सङ्घका उपाध्यक्ष सुवेदीले पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केराखेती हुने गरेको बताउनुभयो । भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केराखेती गरिएको छ । केराको खपत बढाउन व्यवसायीले मेला महोत्सवहरूमा विभिन्न परिकार बनाउने गरेका छन् । पाकेको मात्रै होइन, काँचो केराको खपत बढाउन सके बजारको समस्या नहुने व्यवसायीको भनाइ छ ।