चितवन । आज पुत्रदा एकादशीको अवसर पारेर देवघाट क्षेत्रलाई केन्द्रमा राख्दै विश्व जागरण महाअभियान ट्रस्टले आयोजना गरेको देवघाट परिक्रमा तथा बृहद् सरसफाइ अभियान भव्य रूपमा सम्पन्न भएको छ।
सयौं स्वयंसेवक र स्थानीय बासिन्दाको उत्साहपूर्ण सहभागितामा गण्डकी र त्रिशूली नदीको संगम क्षेत्र सरसफाइ गरियो।
परिक्रमा कार्यक्रमको नेतृत्व देवघाट दिव्यधामका परिकल्पनाकार ईश्वरकृष्ण महाराज, नृसिंहधाम पीठाधीश्वर डा. श्रीवास कृष्णदास ब्रह्मचारी, र महोत्सवका प्रमुख व्यवस्थापक आचार्य श्रीधर वस्यालले गर्नुभएको थियो । धार्मिक, सांस्कृतिक र सामाजिक महत्वको देवघाट क्षेत्र यसपटक ऐतिहासिक देवघाट महा महोत्सव २०८१ को मुख्य केन्द्र बनेको छ।
पुस २४ देखि माघ मसान्तसम्म चल्ने महोत्सवमा देश-विदेशका लाखौं श्रद्धालुको सहभागिता अपेक्षा गरिएको छ। मुख्य आकर्षणका रूपमा भोलि पुस २७ गते देवघाट दिव्यधामको शिलान्यास गरिनेछ। विशेष धार्मिक विधि र साधु-सन्तहरूको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न हुनेछ।
शिलान्यासमा १०८ साधु-सन्तहरूको नेतृत्वमा जगशिला राखी नवरत्न र स्वर्ण अनन्त शेष स्थापना गरिनेछ। “देवघाटलाई नेपालकै प्रमुख धार्मिक, सांस्कृतिक, र पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने” परिकल्पनासहित अघि बढाइएको यो परियोजना नेपालकै सांस्कृतिक गौरव हुने विश्वास गरिएको छ।
माघ महिनाभरि भक्तजनहरूले १ लाख शीला पूजन, रामनाम लेखन, भजन-कीर्तन, कथा प्रवचन, र विशेष माघ स्नानमा सहभागी हुनेछन्। महोत्सव अवधिभर ३० लाखभन्दा बढी भक्तजनको उपस्थिति रहने अनुमान गरिएको छ। विश्वप्रसिद्ध कथा वाचकहरूको कथा प्रवचन, सांस्कृतिक कलाकारहरूको प्रस्तुति, र योग प्रशिक्षकहरूद्वारा आयोजित योग सत्रहरूले महोत्सवलाई विशेष बनाउनेछ।
महोत्सवसँगै निर्माणाधीन माता-पिता सेवा आश्रमले पनि विशेष चर्चा पाएको छ। ३६५ कोठा समेटिएको यो विशाल परियोजनाले हजारौं वृद्ध अभिभावकलाई सुरक्षित र धार्मिक वातावरणमा आश्रय प्रदान गर्नेछ।
देवघाट महा महोत्सवले नेपालमा धार्मिक पर्यटनको विकास र सामाजिक एकताको प्रवर्द्धनमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ। आयोजकहरूले सम्पूर्ण श्रद्धालु भक्तजनलाई महोत्सवमा सहभागी भई ऐतिहासिक अवसरको लाभ उठाउन आह्वान गरेका छन्।
यस महोत्सवले धार्मिक आस्था बलियो बनाउँदै नेपाललाई सांस्कृतिक र पर्यटन क्षेत्रका लागि एक वैश्विक गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान दिनेछ। देवघाट महा महोत्सव २०८१ धार्मिक र सांस्कृतिक दृष्टिले नेपालको इतिहासमा स्वर्णिम अध्यायका रूपमा स्थापित हुने निश्चित छ।