चितवन । चितवनका दुई वटा पालिकाका झण्डै एक हजार घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको छ । सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका ९५० विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरेको हो ।
इम्प्याक्टले जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं १ का तीन वटा चेपाङ बस्तीका ६५० घरधुरी र रत्ननगरका ३०० घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले जानकारी दिए । मंगलबार रत्ननगर वडा नं ८ का चौधरी समुदायका ३२ घरधुरीलाई चुलो वितरण गरिएको उनले जानकारी दिए । विपन्न समुदायका महिलाहरुको स्वास्थ्य जोगाउन चुलो वितरणलाई तीब्र पारिएको हो । सपना भिलेजले विपन्न समुदायलाई वितरण गर्नकै लागि उद्योग सञ्चालन गरी चुलो निर्माण गरेको छ । वाताबरण संरक्षण र स्वास्थ्य सुरक्षा र खानापकाउदा दाउराको प्रयोग न्यूनीकरणका लागि सपना भिलेजले आफैले चुलो बनाएर वितरण गरेको हो ।
जिल्ला भित्रका दाउरामा खाना पकाउने अधिकाँस विपन्न समुदायलाई चुलो वितरण गर्ने गरी उद्योग स्थापना गरी चुलो निर्माण गरिरहेको अध्यक्ष गिरीले बताए । हामीले स्थानीय सरकारसंग सहकार्य गरेर काम गरेका छौं उनले भने लक्षित समुदाय र आवश्यकताको आधारमा चुलो वितरण गरिरहेका छौं ।
सपना भिलेजले चेपाङको जीवन स्तर उकास्न जीविकोपार्जन, विपन्न समुदायलाई आवास निर्माण, बालबालिकाको स्वास्थ्य परीक्षण तथा पौष्टिक आहार वितरण गरिरहेको छ । सपनाका अध्यक्ष गिरीले सात बर्ष अघिदेखि चेपाङ समुदायका जीवन स्तर उकास्ने र उनीहरुको जीवन शैलीमा परिर्वतन ल्याउन काम गरिरहेको भन्दै शिक्षा, स्वास्थ्य र आयआर्जनलाई प्राथमिकता दिएको बताए । वाताबरण संरक्षण र चेपाङ समुदायका महिलाहरुको स्वास्थ्य जोगाउन निःशुल्क चुलो प्रदान गरिएको उनको भनाई छ । दाउरामा आगो बालेर खाना पकाउदा निस्किने धुवाले चेपाङ समुदायको स्वास्थ्य विग्रिएको हामीले पाएका छौं अध्यक्ष गिरीले भने हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य जोगाउनु हो ।
सपना भिलेजले चुलोसंगै विपन्न समुदायका बालबालिकाहरुलाई पौष्टिक आहारका रुपमा सर्वोत्तम पीठो समेत वितरण गरेको छ । सर्वोत्तम पीठो वितरणलाई चेपाङ बालबालिकामा केन्द्रीत गरिएको अध्यक्ष गिरीले बताए । यसैबीच मंगलबार नै सपना भिलेज र रेवान सौराहाले रत्ननगर वडा नं १ निपनी स्थित ओमशान्ति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई कापी प्रदान गरेको छ । दुई संस्थाको सहकार्यमा विपन्न समुदायका बालबालिकालाई वितरण गर्ने गरी चार हजार कापी आफैले छपाएर राखेको गिरीले बताए ।