चितवन। रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले करदाता सचेतना तथा कर संकलन सम्बन्धि घरदैलो कार्यक्रम गरेको छ । अभियान स्वरुप संचालन गरिएको कार्यक्रममा आज कृष्ण मन्दिरचोक देखी भानुचोक सम्म रहेका व्यवसायीहरु संग भेटघाट गरिएको छ । रत्ननगर ९ का अध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, रत्ननगर नगरपालिकाका राजस्व शाखा प्रमुख, वडा सचिव, वडाका कर्मचारीहरु, नगरप्रहरी, टोल विकास संस्थाका पदाधिकारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
घरदैलोमा नै पुगेर व्यवशायीहरु संग अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा अधिकांश व्यवशायहरु दर्ता भएर संचालन भए पनि केहि भने दर्ता नभएका, केहि व्यवशायहरु नवीकरण हुन वांकी रहेका पाईएको छ । वडा कार्यालयका सम्बन्धित जनप्रतिनिधी तथा कर्मचारीहरु नै यसरी घरदैलोमा आएकोमा व्यवशायीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । आफुहरु छिट्टै वडा कार्यालयमा नै उपस्थित भएर दर्ता तथा नवीकरण गर्ने समेत उनीहरुको भनाई थियो ।
कार्यक्रम अन्तर्गत वडाध्यक्ष अनन्त अधिकारीले व्यवसायीको समस्या तथा गुनासोलाई सुन्दै वडाले गर्न सक्ने सहयोग समेत गर्न आफुहरु घरदैलोमा उपस्थित भएको बताउनुभएको छ । देश आर्थिक मन्दीको चपेटामा गुज्रिएपनि व्यवसायीहरुले वडाकार्यालय र नगरपालिका संगै हातेमालो गर्ने प्रतिक्रिया समेत दिनुभएको वडाध्यक्ष अधिकारीको भनाई थियो । अभियान अन्तर्गत वडाका हरेक टोलहरुमा व्यवशायीहरु संग भेटघाट गरिने वडासचिव सुर्यप्रसाद ढुंगानाले बताउनुभयो ।