चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित इच्छाकामना मन्दिरमा आज पनि भव्य रुपमा पञ्चमी मेला लागेको छ । मन्दिरमा पहिलोपटक आज सरकारी पूजा गरिएको छ । गाउँपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा फूलको डोलीसहित पञ्चेबाजा बजाएर पञ्चबलि चढाइएको हो । आज बिहान १० बजे प्रसाद वितरण गर्ने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, पूर्वअध्यक्ष गीता गुरूङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलगायतको उपस्थिति रहेको थियो । मन्दिरमा हिजो पनि पञ्चमी मेला लागेको थियो । मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले मन्दिर संरक्षण समिति र त्रिवेणीकला केन्द्र मुग्लिनको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।
मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ । रातभर मेला लाग्ने बिहान पूजाआजाका साथै बलि चढाउने प्रचलन छ । केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सो दिन सार्वजनिक बिदासमेत दिन थालेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले धार्मिक पर्यटकीयको रूपमा विकास हुँदै गएको यस क्षेत्रमा मन्दिर पुनर्निर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको बताए ।
उनका अनुसार मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा ल्याइएको छ । पुजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ । मनकामना देवीका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती छ । इच्छाकामना माईको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास रहेको पाइन्छ ।
समुद्री सतहबाट एक हजार आठ सय मिटरको उचाइमा इच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्र्रे देख्न सकिन्छ ।