चितवन । जलवीरेमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट इच्छाकामनाका १५० जनाले सेवा लिएका छन् । इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिद्वारा सञ्चालित इच्छाकामना न्युज डटकमले सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा देव हस्पिटल प्रालि भरतपुरका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा कविन न्यौपानेको संयोजनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
जलवीरेस्थित वडा नं.६ को कार्यालय परिसरमा सम्पन्न शिविरमा उच्च रक्तचाप, मधुमेह, थाइरोइड, कलेजो तथा फोक्सोसम्बन्धी समस्या, बाथरोग, घुँडा खिइएको, नसा च्यापिएकोलगायत हाडजोर्नीसँग सम्बन्धित सम्पूर्ण रोगको परीक्षण, मिर्गौला तथा पित्तथैलीको पत्थरी, हाइड्रोसिल, हर्निया, जनरल सर्जरीसम्बन्धी परीक्षण गरिएको थियो ।
त्यसबाहेक बालबालिकामा देखिने रोगहरुको परीक्षण तथा महिलाहरुमा हुने महिनावारी गडबडी, सेतो पानी बग्ने समस्या, पाठेघरसम्बन्धी समस्याको विषयमा पनि परीक्षण गरिएको थियो । इच्छाकामना न्युजले संस्थाको वार्षिकोत्सवको अवसरमा इच्छाकामनावासीको स्वास्थ्योपचारमा थोरै टेवा पु¥याउने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण गराएको इच्छाकामना न्युजका सञ्चालक चित्र ‘सोल्टी’ गुरूङले जानकारी दिए ।
सञ्चार क्षेत्रमार्फत समाजलाई सचेत गराउनुका साथै संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा समेत सानो प्रयास गरिएको उनले बताए । भरतपुरको देव हस्पिटल प्रालि र मुग्लिन बजारको हाइवे फार्मेसीसँगको सहकार्यमा स्वास्थ्य परीक्षण गरिएको उनले बताए । परीक्षणका क्रममा समस्या देखिएकाहरुलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको उनको भनाइ छ ।
वागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सञ्चार जगतमार्फत् समाज रूपान्तरण गर्ने प्रयासमा रहेको सञ्चारगृहले इच्छाकामनाका नागरिकको स्वास्थ्यमाथि चिन्ता जनाउनु ज्यादै सह्राहनीय काम भएको बताए । ‘एउटा सञ्चारमाध्यमले गरेको यो काम जनताको लागि यसै पनि फलदायी भयो नै । सरकारलाई समेत सहयोग पुगेको छ,’ उनले भने ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले नागरिकको स्वास्थ्यको लागि सञ्चारमाध्यमले खेलेको भूमिका सकारात्मक भएको बताए । भरतपुरमा रहेको देव हस्पिटल प्रालिले भने इच्छाकामना गाउँपालिकाभित्रका नागरिकलाई अस्पतालबाट प्राप्त सबै सुविधामा २० प्रतिशत छूट दिने घोषणा गरेको छ । दूरदराजमा रहेका नागरिकको स्वास्थ्योपचारको लागि अस्पतालले सकेको सुविधा दिने अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा कविन न्यौपानेले जानकारी दिए ।
इच्छाकामना न्युजले मङ्सिर २२ गते विशेष कार्यक्रमसहित विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्दै वार्षिकोत्सवको समापन गर्ने तयारी गरेको छ ।