काठमाडौं । नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि पहिला आफैँभित्र वैचारिक बहस गर्नुपर्ने बताएका छन् । बुधबार प्रज्ञा भवनमा आयोजित ‘नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक कार्यक्रममा उनले विगतले त्यस्तो पाठ सिकाएको बताए ।
“हिजो केही न केही भावनामा, केही न केही मनसायले सारा कम्युनिस्टलाई एकताबद्ध गरिहालौँ न । त्यसो भयो भने देशमा अत्यधिक ठूलो संख्या कम्युनिस्टको छ, त्यसले समाजवाद निर्माणलाई तीव्र गति दिन सकिन्छ भन्ने मनसायले चुनाव मिलेर लड्यौँ । पार्टी एकता पनि गरेर हेर्यौँ,” उनले भने ।
घटनाक्रम र परिणामले वैचारिक स्पष्टतापछि मात्र एकतातर्फ अघि बढ्नुपर्ने देखाएको उनको भनाइ छ । “हामी पहिला आफैँभित्र वैचारिक स्पष्टताको निम्ति संघर्ष गरौँ । आफ्नै पार्टीभित्र निर्मम ढंगले समीक्षा अघि बढौँ । त्यसलाई एकताबद्ध गर्ने कोसिस गरौँ,” प्रचण्डले भने ।
त्यसपछि मात्रै इमान्दाररूपमा अरू पार्टीसँग एकता गर्नुपर्ने भनाइ उनको छ । उनले अहिले माओवादी आत्मालोचना गरेर त्यो बाटोमा अघि बढेको बताए ।
प्रचण्डले मिल्न सक्ने मिल्ने र नमिल्ने मोर्चाबाट एक भएर अघि बढ्नुपर्ने बताए । प्रचण्डले सबै राजनीतिक दलका नेतालाई के कति गरेँ भन्ने गम्भीर समीक्षा गर्न सुझाए ।