चितवन । पूर्वी चितवनको रत्ननगर स्थित स्काइराइडर आवासीय माविमा शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १०७ युनिट रगत संकलन भएको छ । युवा रेडक्रस सर्कल तथा इन्ट्याक्ट क्लव अफ स्काइराइडरले आयोजना गरेको सो कार्यक्रममा २५ जना महिला सहित १०७ युनिट रगत संकलन भएको विद्यालयका शिक्षक रमेश पुरीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनमा सभापति हरिप्रसाद पौडेलले विद्यालयका सहायक प्राचार्य केशवराज पाठकलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी विद्यालयको बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य मदन पुरीले जानकारी दिए ।
कार्यक्रममा वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरेले रत्ननगरमा सञ्चालनमा रहेर उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको स्काइराइडर आवासीय माविले रक्तदान कार्यक्रमको आयोजना गरेर समाजप्रतिको उत्तरदायित्व बहन गरेको बताए । युवा रेडक्रस सर्कलकी अध्यक्ष अपेक्षा ढकालको अध्यक्षतामा भएको कार्यक्रममका शिक्षक नायक समुद्र भट्ट लगायतले मन्तव्य राखेका थिए । इन्ट्याक्ट क्लव अफ स्काइराइडरकी अध्यक्ष समृद्धि तिमिल्सिनाले उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन् ।