काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा लेख्दै यस्तो सुझाव दिएका हुन् ।
महामन्त्री शर्माले अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन आग्रह गर्दै सडक विलापको जगहँसाइ नगर्न सुझाव दिएका छन् ।उनले रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदनले प्रचलित कानुन बमोजिम कारवाही गर्नु भन्ने सिफारिस गरेको उल्लेख गर्दै प्रक्रिया सुरु भएपछि ‘राजनैतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसदकै अपमान भएको बताएका छन् ।
उनले भनेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जगहँसाइ नगरौँ ।
उनले दोषीलाई कारवाही र बचतकर्ताको रकम फिर्ता अहिलेको राष्ट्रिय आवश्यकता रहेको उल्लेख गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी बचत रकम अपचलन गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।