काठमाण्डाै । यात्रुसँग बढी भाडा लिने ३१ जनालाई ट्राफिक प्रहरीले काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
आज बल्खुबाट आठ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट तीन जना गरी १७ जनालाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै हिजो बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको छ ।
यस्तै जाँचका क्रममा निजी नम्बर प्लेटका गाडीले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको अवस्थामा २ वटा गाडीलाई समेत नियन्त्रणमा लिइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन कार्कीले जानकारी दिनुभयो ।
चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागि ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका १४ वटा ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन गर्दै आएको छ ।
यात्राका क्रममा कसैले अनावश्यक दुखः हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।