चितवन । पछिल्लो समय प्रदेश संरचनाको आवश्यकतालाई लिएर जताततै प्रश्न उठ्न थालेको प्रति चिन्ता व्यक्त गर्दै प्रदेश माथिको प्रहार गर्नु भनेको संघियताको मूल मर्म माथि प्रहार गर्नु रहेको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले बताउनुभएको छ । बिहिबार भरतपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोन्धन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा राजश्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोन्धन गर्दै मन्त्री सिलवालले प्रदेश संरचना नेपालको लागि नयाँ अभ्यास भएको भन्दै यसको आवश्यकता र महत्व माथि अहिले नै प्रश्न गर्नुपर्ने बेला नभएको बताउनुभयो ।
“देश संघियतामा जादै गर्दा प्रदेश संरचना हाम्रो लागि नयाँ अभ्यास हो, भर्खर ७ वर्ष भएको छ, अहिले नै यो संरचना माथि प्रश्न गर्नु जायज होइन” -उहाँले भन्नुभयो “बरु केन्द्र सरकार मुख्य ३-४ वटा विषयमा मात्र केन्द्रीत रहेर बाँकी सबै क्षेत्रको अधिकार प्रदेशमा पठाई प्रदेशलाई स्वायत्त सहित अधिकार सम्पन्न बनाउन जरुरी छ ।”
यस्तै उहाँले प्रदेश संरचना संचालनको क्रममा भएका त्रुटिहरुलाई सच्याउदै माथि यसको औचित्य पुष्टि गर्न सबै जनप्रतिनिधि राजनैतिक दलहरु लागिपर्नुपर्ने बताउनुभयो ।