चितवन। यहाँको मैयाँदेवी कन्या कलेजले तीजको अवसरमा दुई सय छात्रालाई सम्मान गरेको छ । आइतबार मैयाँदेवी छात्रा सम्मान २०८१ कार्यक्रमको आयोजना गरी यहाँबाट स्नातक र स्नातकोत्तर अध्ययन गरी स्वदेशमानै रोजगारीमा रहेका एवं स्वरोजगार भएका छात्राहरुलाई सम्मान गरिएको हो ।
छात्राहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सम्मान गर्नुभएको हो । सो अवसरमा प्रमुख दाहालले यस कलेजमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई सेनिटेरी प्याड र साइकलको व्यवस्थापन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “हामी अन्य सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई सेनिटेरी प्याड र साइकल बितरण गरेका छौ । सो कार्यक्रममा यस कलेजका छात्रलाई पनि समेट्ने गरी काम गछौँ ।” कलेजले गरेको सम्मानले आम दिदीबहिनीलाई शैक्षिक यात्रामा सहयोग पुगेको उहाँको भनाइ थियो ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कलेजमा प्रमुख भोजराज न्यौपाने, कार्यक्रमका संयोजक कृष्णप्रसाद न्यौपाने लगायतले तीजको अवसर पारि कलेजले आयोजना गरेको छात्रा सम्मान कार्यक्रम उदाहारणीय भएको बताउनुभयो । कलेजका अध्यक्ष टङ्कनाथ पौडेलले कलेज स्थापनादेखि हालसम्म यहाँ अध्ययन गरेर स्वदेशमा रोजगारी गरेका, स्वरोजगार भएका र विभिन्न सङ्घ संस्थाको नेतृत्वदायी भूमिकामा रहेकाको सम्मान गरिएको बताउनुभयो ।