हेटौँडा । हेटौँडामा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । घाइतेहरुको हेटौँडा स्थित सन्चो अस्पतालमा उपचार भइरहेको छ । शुक्रवार बिहान हेटौँडा उपमहानगरपालिका वडा नं-९ मास्टर चोक स्थित पूर्वपश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको एनएल ओ १ एल २९७१ नम्बरको भारतीय एलपी ग्यास बुलेटले बिपरीत दिसातर्फ जाँदै गरेको ग३च ८४४९ नम्बरको कारलाई ठक्कर दिएको हो ।
ग्यास बुलेटको ठक्करबाट कारका चालक स्याङ्जा जिल्लाको अरुणचौपाहीनगरपालिका वडा नम्बर १ बस्ने बर्ष ३३ का चुडा बहादुर बिष्ट, कारमा सवार कास्कीको पोखरा महानगरपालिका ११ का ६३ वर्षीय पुरण श्रेष्ठ र लम्जुङको बेसीसहर नगरपालिका ८ की १७ वर्षीया नेहा राना मगर घाइते भएका छन् ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार घाइतेहरुको अवस्था मध्यम छ भने कारमा रहेका अन्यको अवस्था सामान्य छ । पोखराबाट नर्सिङ भर्नाको परीक्षा दिन वीरगन्ज र जनकपुरका लागि हिंडेका उनीहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा परेका दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनापछि फरार रहेका एलपी ग्यास बुलेटको चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।