चितवन । सामाजिक शिक्षा विषयको पाठ्यक्रम र पाठ्यपुस्तकको “नागरिक चेतना” पाठमा उल्लेखित निर्वाचन सम्बन्धि व्यवस्थालाई विद्यार्थीहरुमाझ व्यवहारिक र प्रयोगात्मक ज्ञान दिलाउने उद्धेश्यले रत्ननगर १० मा रहेको न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले नमुना अभ्यास मतदान गरेकाछन् ।
शुक्रवार विद्यालय परिसरमा स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन, हाउस क्याप्टेन, क्लास (कक्षा) क्याप्टेन र भाइस क्याप्टेनको नमुना निर्वाचन भएको हो ।
स्कुल क्याप्टेनका लागि २ छात्र र १ छात्रा गरि ३ जना, स्कुल भाइस क्याप्टेनका लागि १ छात्र र ३ छात्रा गरि ४ जना, ब्ल्यु हाउस क्याप्टेनका लागि २ छात्र र ३ छात्रा गरि ५ जना, ब्ल्यु हाउस भाइस क्याप्टेनका लागि ३ छात्र र १ छात्रा गरि ४ जना, एल्लो हाउस क्याप्टेनका लागि २ छात्र र १ छात्रा गरि ३ जना, एल्लो हाउस भाइस क्याप्टेनका लागि २ जना छात्रा, रेड हाउस क्याप्टेनका लागि २ छात्र र २ छात्रा गरि ४ जना, रेड हाउस भाइस क्याप्टेनका लागि १ छात्र र १ छात्रा गरि २ जना, ग्रिन हाउस क्याप्टेनका लागि ३ छात्र र १ छात्रा गरि ४ जना, ग्रिन हाउस भाइस क्याप्टेनका लागि ३ छात्र र १ छात्रा गरि ४ जना, क्लास (कक्षा) क्याप्टेन कक्षा ४ देखि कक्षा ९ सम्मका छात्र ७ र छात्रा ७ गरि १४ जना र भाइस क्याप्टेनका लागि छात्र ६ र छात्रा ७ गरि १३ जना विद्यार्थीहरु उम्मेदवार बनेका हुन् ।
निर्वाचनमा होमिएका विद्यार्थीहरुले एक हप्ता पहिले देखिनै प्रचार प्रसारमा होमिएर कक्षा कोठाका साथीहरुसंग मत मागेका थिए ।
निर्वाचनमा निर्वाचित विद्यार्थीहरुले आगामी दिनमा विद्यालमा अनुशासन कायम, शैक्षिक गुणस्तर सुधार, कक्षा कोठा र विद्यालय हाताभित्र पालना गर्नुपर्ने नियमका बारेमा आ आफ्ना कक्षाका साथीहरुलाई पालना गर्न आग्रह गर्न भुमिका खेल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक डिल्लीराम पोखरेलले जानकारी दिनुभयो ।
मतदान कार्यक्रममा कक्षा १ देखी १० सम्मका ३ सय १५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । सो अवसरमा विद्यार्थीहरुलाई निर्वाचन भनेको के हो, यस्को महत्वबारे जानकारी गराईएको थियो ।
मतदान शिक्षा पाठ्यक्रममा समाबेस भएतापनि विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा बुझाउन विद्यालयमा बुथ बनाएर मतपत्र सहित स्वस्तिक छाप लगाई मतदान गर्न लगाईएको उहाले बताउनुभयो ।
विद्यार्थीहरुलाई किताब पढेका कुरा व्यवहारमा उतार्न सक्ने उद्धेश्य लिएर कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राधानाध्यापक अर्जुन वहादुर थापाले दिनुभयो ।
विद्यार्थीहरुले मत पेटीमा खसालेको मत पत्र आइतवार विद्यालय परिसरमै गणना गरी बिजयी उम्मेदवारहरुको नाम सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत तथा शिक्षक झलक अधिकारीले जानकारी दिनुभयो ।
मतदानमा मतदान अधिकृत प्रकाश काफ्ले, सहायक मतदान अधिकृत सुष्मा तामाङ, निर्वाचन प्रवक्ता सौरभ अधिकारी, विद्यालयका शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको थियो ।