काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाइ अभियान सुरु गरेको हो ।
निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर/कार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन नागरिकसँग समेत आग्रह गरेको छ ।
शुक्रबार बिहान १० देखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय सरसफाइमा जुटेका छन्। मन्त्रालयबाट सुरु गरिएको अभियान सहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्याउने लक्ष्य मन्त्रालयको छ ।
अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरूलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगुको संख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाइ अभियान सुरु गरेको बताए ।
उनले डेंगुको नियन्त्रण र न्यूनीकरणका लागि गत हप्तादेखि नै संघीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रबार सरसफाइ अभियान सुरु गरेको बताए । उनले पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिए ।
उनले भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्य मन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि बताए । हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाइको अभियान चलाउन उनले आग्रह गरे ।
प्रवक्ता बुढाथोकीले सरसफाइ अभियानले डेंगुमात्र नभई अन्य रोगहरु पनि नियन्त्रण र रोकथाम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने सरकारको विश्वास छ । डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन उनले आग्रह गरे ।
डेंगी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्त गर्न सकिने चिकित्सकहरू बताउँछन् । खोज र नष्ट विधि घरदेखि ठुला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरूको भनाइ छ ।
यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र सामुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरूको सुझाव छ । समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढवा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने चिकित्सकहरूको विश्वास छ ।