बिराटनगर। मोरङको केराबारी–९ स्कुल चोक निवासी मनोज पण्डित कि ६ वर्षीया छोरी प्रतिमाको सर्पले डसेर निधन भएको छ । उनी गोपाल मेमोरियल इङ्लिस स्कुलमा एलकेजीमा पढ्थिन् ।
बुधवार विद्यालयबाट घर पुगेकी उनलाई घरमै कालो गोमन सर्पले डसेको थियो । ‘घरमा पुग्नसाथ उनी शौचालयमा गएकी रहेछिन्,’ ‘केराबारी–९ का वडा सदस्य सुमन ढकालले भने, ‘शौचालयबाट फर्कने क्रममा सर्पले डसेछ ।’
सर्पले डसेको थाहा पाएपछि परिवारका सदस्यले कुदाउँदै बेलबारी नगरपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए । त्यहाँबाट उनलाई इटहरीको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो ।
त्यहाँ पनि उपचार हुन नसक्ने भनेपछि विराटनगरको कोशी अस्पतालमा ल्याइएको थियो । कोशीमा ल्याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
‘४:२० तिर सर्पले टोकेको रहेछ,’ वडा सदस्य ढकालले भने, ‘५ बजेतिर त कोशी अस्पतालमै पुर्याउनु भएको रहेछ । कोशीमा पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेछन् । घुमाउँदा घुमाउँदै उनको ज्यान गयो ।’
प्रत्येक पालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भए पनि उपचार नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
उपचारका लागि यहाँबाट त्यहाँ भन्दै रेफर गरेका कारण डुलाउँदा डुलाउँदै ती बालिकाको ज्यान गएको केराबारी–९ कि इन्दिरा ढकालले बताइन् ।