भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुंगासहितको पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
आज बिहान करिब ७ः४० बजेको समयमा पहिरो खसेर दुईतर्फी नै अवरुद्ध राजमार्ग दिउसो १२ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो । सडक दुइतर्फी सञ्चालनका लागि केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
अहिले राजमार्गमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन । राजमार्ग विस्तारको क्रममा रहेकाले बर्खा लागेसंगै यो सडकखण्ड पहिरोका कारण पटक–पटक अबरुद्ध हुँदै आएको छ । आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले यात्रा गर्दा सचेत बन्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।