चितवन। चीनको सिगात्से सहर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले भरतपुर महानगरलाई स्वास्थ्य समाग्री सहयोग गरेको छ ।दुई संस्थाले हिजो आइतबार एक कार्यक्रमका बिच भरतपुर महानगरपालिकालाई रु १ करोड ७१ लाख मुल्य बराबरको सामग्री हस्तान्तरण गरेको छ ।
स्वास्थ्य समाग्री महानगर प्रमुख रेनु दाहालले हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा मेडिकल मास्क ४५ हजार, अक्सिजन सिलिण्डर २०० थान, हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर ठूलो १० थान, मध्यमस्तरको १० थान, एन ९५ मास्क छ हजार ९६० थान, मेडिकल रबर ग्लोब्स १० हजार थान, पिपिइ तीन हजार १५० थान र इसीजी मेसीन पाँच थान हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा महानगर प्रमुख दाहालले मित्र राष्ट्र चीनका भगिनी सम्बन्ध राखिएका शहरबाट महानगरलाई नियमित सहयोग हुँदै आएको भन्दै कोभिड नियन्त्रणमा यी सामग्री प्रयोग गरिने बताउनुभयो । उहाँले स्वास्थ्य समाग्रीले गर्दा आफ्नो कार्य क्षेत्रमा कार्य गर्दै गरेका स्वास्थ्य कर्मीलाई सहयोग पुग्ने बताउनुभयो । “यसअघि यसरी नै भगिनी सम्बन्ध भएका चीनका तीन शहरबाट स्वास्थ्य सामग्री प्राप्त भएको थियो । यसबाट हामी निकै उत्साहित भएका छौँ”, उहाँले भन्नुभयो । स्वास्थ्यकर्मी र कर्मचारीलाई सही सदुपयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।
चिनियाँ ब्यवसायी छिङले यो सहयोग आउँदा दिनमा पनि निरन्तर हुने बताउनुभयो । महानगरको नेतृत्वले चीनका नगरसँग राखेको सम्बन्ध भविष्यमा उपयोगी बन्ने उहाँको भनाइ थियो ।कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरी , प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा , महानगरका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपाने लगाएतले मन्तब्य राख्नु भएको थियो।