चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा सोमबार दुई खेल सम्पन्न भएका छन् ।
लिग अन्तर्गत शारदानगरको मैदानमा सोमबार सम्पन्न खेलमा हानामी भरतपुर फुटबल क्लब बिएफसी र माडी ११ विजयी भएका छन् । पहिलो खेलमा बिएफसीले नारायणी मोटर्स युनिक एफसीलाई ३-२ ले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा बिएफसीलाई जिताउन सन्देश श्रेष्ठले २४ औं तथा सुजन श्रेष्ठले ६२ औं मिनेटमा गोल गरे । यस्तै सुमन आलेले ६७ औं मिनेटमा गोल गरे । युनिकका किरण गुरुङले २१ औं तथा उज्ज्वल गुरुङले अतिरिक्त समयमा गोल गरे ।
दोस्रो खेलमा माडी ११ ले रामपुर फुटबल क्लब रड्सलाई ३-१ ले पाखा लगायो । माडीको जितमा गणेश नेपालीले २३ औं, विज्ञान खड्काले ४७ औं तथा रितेश क्षेत्रीले अतिरिक्त समयमा गोल गरे । रामपुरका साहिल थापा मगरले १६ औं मिनेटमा गोल गरे ।
यससँगै लिगमा तेस्रो चरणका खेलहरु सम्पन्न भएका छन् । आज मंगलबारबाट चौथो चरणका खेलहरु सुरु हुनेछन् । चौथो चरणको पहिलो खेलमा सौराहा युवा समाज र पानस युवा क्लब भिड्नेछन् । खेल शारदानगरमा दिउँसो २:३० बजे हुनेछ । सोही मैदानमा ४:३० बजे आई स्टडी गीतानगर ब्वाईज र नारायणी एफसी भिड्नेछन् ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।