बारा । त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टि यादवको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । घटनाको ८ औँ दिनसम्म पनि सृष्टि फेला नपरेपछि परिवारले शुक्रबार कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।
कलैया उपमहानगरपालिका– १४ जितपुटोलकी सृष्टिका अभिभावकले कुशको शव बनाएर पसाहा खोलामा दाहसंस्कार गरेका छन् । शव फेला नपरेपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको उनका बुबा जगदीश यादवले बताए । सृष्टि पर्साको सखुवाप्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रूपमा कार्यरत थिइन् ।
उनी विदेश जानको लागि परीक्षा दिन काठमाडौँ जाँदै गर्दा सो घटनामा परेकी हुन् ।उनी चढेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमतालको पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।
उक्त घटनामा बाराका ४ जना यात्रु परेका थिए । सृष्टिसँगै प्रसौनी गाउँपालिका–२ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवी र बारा बिश्रामपुर ३ का प्रमानन्द पण्डित बेपत्ता छन् । शव फेला पर्ने स्थिति नदेखेपछि कुर्मीको परिवारले पनि यसअघि नै कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।