चितवन । चितवनमा रेलमार्गको सर्भे गर्न आएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए।
नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ। गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। आगो नियन्त्रणमा आइसकेको छ।
पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो। वडा नम्बर ८ मा मंगलबार नै सर्भे गरिएको थियो। आज वडा नं. ७ मा सर्भे गर्दागर्दै २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका हुन् । पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् ।’