पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका प्रदेश सांसदले बिहीबार प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव पेस गरेका हुन्।
अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ। अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ। गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन्।
तर, अविश्वास प्रस्ताव दर्ता हुने थाहा पाएपछि प्रदेशसभाको चालू अधिवेशन रातारात अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेका हुन्।
अविश्वास प्रस्ताव दर्तासँगै कांग्रेस, माओवादी, राजमो र जसपाका सांसदले अधिवेशन माग गर्दै प्रदेशप्रमुखसमक्ष समावेदन गर्ने वा नियमित अधिवेशन कुर्ने भन्नेबारे दलहरू छलफलमा छन्। प्रदेश अधिवेशन अन्त्य गरे पनि २५ प्रतिशत सांसदले माग गरे पुनः अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ।
दलहरूले अविश्वास प्रस्ताव पेस गरेसँगै प्रदेशसभा सचिव हरिराज पोखरेल त्यसलाई कसरी अघि बढाउने भन्नेबारे सभामुख नेत्रनाथ अधिकारीलगायतसँग छलफलमा जुटेका छन्।