चितवन । कालिका नगरपालिकाले शिक्षामा दिगो विकासका लागि नगर शिक्षा योजनाको प्रारम्भिक मस्यौदा तयार गरेको छ ।
नगरपालिका अन्तर्गत शिक्षा समितिले बनाएको योजना निर्माण कार्यदलले प्रारम्भिक मस्यौदा तयार पारेको हो । २०८० साल चैत्र २७ गते नगर शिक्षा निर्देशकको संयोजकत्वमा ७ सदस्यीय योजना निर्माण कार्यदल गठन भएको थियो ।
कार्यदल गठन भएको भण्डै चार महिनापछि प्रारम्भिक मस्यौदा तयार गरिएको हो । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, जनप्रतिनिधि, शिक्षा विद, शिक्षासँग सरोकार राख्ने विभिन्न व्यक्तिहरुसँग सुझाव संकलन गरेर प्रारम्भिक मस्यौदा तयार गरिएको नगर शिक्षा निर्देशक गंगाधर रिमालले जानकारी दिनुभयो ।
कार्यदलले तयार पारेको प्रारम्भिक मस्यौदामाथी पहिलो पटक शुक्रवार छलफल भएको छ । नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम लगायतका प्रमुख व्यक्तिहरुको उपस्थितीमा छलफल भएको हो । वृहत छलफल गरेर बैज्ञानिक निचोड निकालेर मात्रै मस्यौदालाई अन्तिम रुप दिने नगर प्रमुख रेग्मीले बताउनुभयो । दीर्घकालिन रुपमा शिक्षाको विकासमा मस्यौदाले कामगर्नेगरी यसलाई अन्तिम रुप दिइने उहाँले बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख तमाङले पञ्चवर्षिय योजनाका लागि बनेको पहिलो मस्यौदा भएकाले शिक्षाको गुणस्तर सुधारका लागि बृहत छलफल गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । प्रारिम्भक मस्यौदा भएकाले विज्ञ र विषयसँग सरोकार राख्ने समुह, व्यक्तिहरुसँग थप छलफल गरेर मात्रै अन्तिम रुप दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले प्रारम्भिक मस्यौदालाई सम्पतिको रुपमा लिइने बताउनुभयो । प्रारम्भिक मस्यौदा तयारहुनु एउटा महत्वपूर्ण उपलव्धीको रुपमा लिनुपर्नेमा जोड दिनुभयो । पञ्चवर्षिय योजनाका लागि बन्ने मस्यौदा पहिलो चरणमा हेर्दा राम्रो छ उहाँले भन्नुभयो – यसलाई सुरुवाती खाकाको रुपमा लिएका छौं । सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठको अध्यक्षमा कार्यक्रम आयोजना गरिएको हो ।
कालिका नगर शिक्षा योजनाको प्रारम्भिक मस्यौदालाई कार्यपालिकाको बैठकमा समेत पेशगर्ने तयारी छ । कार्यपालिकाको बैठकले अध्ययन र छलफल गरेपछि कार्यपालिकाको बैठकले दिएको सुझावको आधारमा विषयबस्तु थपघट गरी आगामी नगर सभा मार्फत मस्यौदा पारितगर्ने योजना छ ।