चितवन। पूर्वी चितवनको रत्ननगर नगरपालिकाले ३० जना किसानलाई भैसी वितरण गरेको छ । नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत गत आर्थिक वर्षमा स्थापना भएको भैसी पकेट कार्यक्रम अन्तर्गत ती भैसी वितरण गरिएको हो ।
रत्ननगर नगरपालिका वडा नम्बर ३ मा रहेको साइराम पशुपालन समुहमा आबद्ध किसानहरुलाई गत वर्ष र यो वर्ष भैसी प्रदान गरिएको छ । गत आर्थिक वर्षमा रु २५ लाखका ३३ वटा भैसी किसानलाई दिईएको थियो भने यस आर्थिक वर्षमा रु १० लाखका १५ वटा भैसी प्रदान गरिएको हो । लामो समयदेखि भैसी पालन गर्दै आएका किसानहरुलाई भैसी प्रदान गरिएको रत्नननगरको पशु सेवा शाखाका पशु सेवा प्राबिधिक सुन्दर वस्नेतले जानकारी दिनुभयो । समुहमा रहेका सदस्यहरुलाई भैसी प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । समुहमा रहेका सदस्य मध्ये १५ जना गत वर्ष र यो वर्ष पनि कार्यक्रममा सहभागी भएका छन् । गत वर्ष मात्रै कार्यक्रममा सहभागी हुने १५ जना रहेको उहाँले बताउनुभयो । गत वर्षको कार्यक्रममा दुई जनाले दोहो¥याएर भैसी अनुदानमा लिएका थिए ।
उहाँका अनुसार भैसी पकेट कार्यक्रम अन्तर्गत प्रदान गरिएको भैसीहरुबाट उत्पादन वढ्ने छ । भैसी पालन गर्ने किसानले अनिवार्य रुपमा बिमा गर्नुपर्ने, तीन वर्षसम्म नियमित भैसी पालन गर्नुपर्ने उहाँले बताउनुभयो । भैसी पकेट कार्यक्रम अन्तर्गत एउटा भैसीका लागि रु ५० हजारसम्म वा भैसीको मूल्य अनुसार ५० प्रतिशत अनुदान दिईएको हो । भैसी बेचेको पाईएमा अनुदान बापतको रकम फिर्ता गर्नुपर्ने हुन्छ । अनुदानमा ल्याईएका भैसी मरेमा पालिकालाई जानकारी गराउनु पर्ने हुन्छ ।