चितवन । भरतपुर महानगरपालिकाले हरियाली महानगरपालिका कार्यक्रमको लागि आफ्नै नर्सरी स्थापना गरी सञ्चालन गर्ने भएको छ । पन्ध्रौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले हरियाली महानगरपालिका कार्यक्रमका लागि आफ्नै नर्सरी स्थापना गर्न लागिएको बताउनुभयो ।
“भरतपुर महानगरः हरियाली तथा स्वच्छ शहर” अवधारणालाई सार्थक बनाउन हरियाली प्रवर्धनका कार्यक्रमलाई तीव्रता दिइने प्रमुख दाहालले बताउनुभयो । बाइपास रोड र पुल्चोक गोन्द्राङ ६ लेन सडकलाई हरित नमूना सडकको रूपमा विकास गरिने आज प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
“एक घर, दुई रूखको नीति” लाई घर निर्माण सम्पन्न प्रक्रियामै अनिवार्य समावेश गरी प्रभावकारी कार्यान्वयन गरिने छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख दाहालले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई मागको आधारमा निःशुल्क रूपमा विरूवा वितरण गरी वृक्षारोपण र संरक्षणको व्यवस्था मिलाइने बताउनुभयो । निजी क्षेत्र र सामाजिक संघसंस्थासँगको साझेदारीमा सडक तथा नदी किनार र सार्वजनिक जग्गामा वृक्षारोपण गर्न एवम् विरुवा हुर्काउने अभियानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
फोहोर व्यवस्थापन, हरियाली प्रवर्धन एवम् सौन्दर्यकरण गर्न सामाजिक संघ संस्था/टोल विकास संस्था÷वडाहरूलाई प्रतिस्पर्धी बनाउने नीति लिदै सूचकमा आधारित वातावरणमैत्री घर, टोल, वडा घोषणा गर्ने कार्यक्रमलाई निरन्तरता दिइने नीति महानगरले लिएको छ ।