चितवन। भरतपुर महानगरपालिकाको आयोजना तथा नेपाल दरै उत्थान समाज भरतपुर महानगर समितिको सहकार्यमा आइतबार भरतपुरमा दुई दिने क्षमता अभिबृद्वी तथा चेतनामूलक प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारी रहनुभएको थियोे । प्रशिक्षण कार्यक्रमलाई उद्वघाटन गर्दै नगर उप प्रमुख अधिकारीले दरै समुदायको हक अधिकार र सामाजिक तथा सांस्कृतिक विषयका क्षेत्रमा आवाज उठाउन ढिला भइसकेको तर्क राख्नुभयो । आफ्नो हक अधिकारका लागि आफै लड्नु पर्ने बताउदै उहाँले अधिकार मागेर नपाए खोसेर भएपनी लिनुपर्नेमा जोड दिनुभयो ।
दरै समुदायको संस्कार सस्कृति जगेर्ना गर्नको लागी भरतपुर महानगर सधै तत्पर रहेको उप प्रमुखको भनाइ छ । लोप हुँदै गएको आदिवासी जनजाति समुदायको संस्कार,संस्कृति संरक्षणमा यस्ता खालका कार्यक्रमले महत्वपूर्ण अर्थ राख्ने छ उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल दरै उत्थान समाजका केन्द्रिय अध्यक्ष मगलराम दराइले भरतपुर महानगर भित्र ८ हजारको हाराहारीमा दराइ समुदायका मानिसहरुको स्थायी बसोबास रहेको बताउनुभयो । महानगरको वडा नम्बर १,८,९, १०, ११, १२, १३, १४,१५,१६,१७,२६ र २७ मा यो समुदायका मानिसहरुको बसोबास रहेको छ ।
चितवन जिल्लामा भने १० हजार भन्दा बढी दराइ समुदायका मानिसहरु रहेका छन् । नेपालमा चितवन सहित तनहुँ, नवलपरासी, धादिङ, गोर्खा लगायतका दरै बस्ती भएका १३ जिल्लामा दराइ समुदायका मानिसहरुको बसोबास रहदै आएको छ ।
आजको कार्यक्रममा क्षमता अभिबृद्वका सम्बन्धमा पत्रकार पुर्ण प्रसाद शर्माले र धर्म सस्कृतिका सम्बन्धमा जिल्ला अध्यक्ष रेशम दराइले प्रशिक्षण दिनुहुनेछ । उक्त प्रशिक्षण कार्यक्रम आगामी असार ८ गते सम्म सन्चालन हुनेछ । कार्यक्रम नेपाल दरै उत्थान समाज भरतपुर महानगर समितिका अध्यक्ष आसराम दराइको अध्यक्षतामा सम्पन्न भएको थियोे ।