चितवन । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा शनिबार तीन खेल सम्पन्न भएको छ ।
शारदानगरमा भएको समूह डी को खेलमा नारायणी नमूना मावि विजयी भएको छ । नारायणी नमूनाले सनराईज ईंग्लिस बोर्डिङविरुद्ध ३-१ को सहज जित हात पारेको हो । नारायणी नमूनाको जितमा उमेश कुमार महतो र सन्जित न्यौपानेले गोल गरे । उसले एक उपहार गोल पाएको थियो । सनराईजका मन्जित क्षेत्रीले एक गोल गरे ।
खेलमा अग्रता भने सनराईजले लिएको थियो । सातौं मिनेटमा गोल गर्दै मन्जितले सनराईजलाई अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा उमेशले नारायणी नमूनाका लागि बराबरी गोल फर्काए । ३७ औं मिनेटमा उपहार गोलमा नारायणी नमूनाले अग्रता लियो । ४९ औं मिनेटमा रन्जितले गोल गरेपछि नारायणी नमूना ३-१ ले विजयी भयो । नारायणी नमूनाका सुमन न्यौपाने म्यान अफ दि म्याच भए ।
यो जितपछि नारायणी नमूना समूह डि को शिर्ष स्थानमा यथावत छ । उसको दुई खेलबाट ६ अंक भएको छ । समान खेल खेलेको सनराईज अंकबिहिन हुँदै तालिकाको पुछारमा झरेको छ ।
उता कृष्णपुरको मैदानमा भएको समूह ई को खेलमा अमर मावि विजयी भएको छ । अमर माविले वाल्मिकी शिक्षा सदनलाई ४-० ले पराजित गरेको हो । अमर माविको जितमा रितेश सुनारले दुई तथा राहुल सुनार र बसन्त कुमालले एक-एक गोल गरे ।
रितेशले खेलको १५ र २६औं मिनेटमा गोल गरे । यस्तै राहुलले २९ औं मिनेटमा गोल गरे । दोस्रो हाफको २३ औं मिनेटमा बसन्तले गोल गरेपछि अमर मावि ४-० को फराकिलो अन्तरले विजयी भयो । बसन्त नै म्यान अफ दि म्याच भए । यो जितपछि अमर मावि दुई खेलबाट ६ अंकसहित समूह ई को शिर्ष स्थानमा कायम छ । उता वाल्मिकी भने समान खेलमा एक अंकसहित तालिकाको तेस्रो स्थानमा झरेको छ
यस्तै पटिहानीमा भएको समूह एफ को खेलमा किरण अमरजंग मावि र ग्रामोदय ईंग्लिस बोर्डिङले अंक बाँडेका छन् । दुबै टिमले २-२ गोलको बराबरी गर्दै एक-एक अंक बाँदेका हुन् । प्रतिस्पर्धात्मक खेलमा किरण अमरजंगका लागि समिर परियार र निशान सुनारले गोल गरे । ग्रामोदयका लागि विमल गौतम र निशान्त थापा मगरले गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै समिरको गोलमा किरण अमरजंगले अग्रता लिएको थियो । तर नवौं मिनेटमा विमलले ग्रामोदयका लागि बराबरी गोल फर्काए । ४६ औं मिनेटमा निशानको गोलमा किरण अमरजंगले फेरि अग्रता लियो । तर खेलको अतिरिक्त समयमा ग्रामोदयका निशान्तले गोल गरेपछि दुबै टोली बराबरीमा रोकिए ।
बराबरीपछि किरण अमरजंगको समूह एफ मा दुई खेलबाट चार अंक भएको छ । किरण अमरजंग तालिकाको शिर्ष स्थानमा छ । ग्रामोदय भने समान खेलबाट दुई अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ ।
लिगमा आइतबार पनि तीन खेल हुनेछ । शारदानगरमा समूह डी का होली भिजन र जनज्योति मावि भिड्नेछन् । यस्तै कृष्णपुरमा समूह ई का दुर्गा शेषकान्त मावि र ब्राइटस्टार ईंग्लिस बोर्डिङ तथा पटिहानीमा हिमालय दण्डपाणि मावि र अंकुरम एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।